सुन्दा अनौठो लाग्छ, मेलम्चीकै ठूलो खाद्यान्न गोदामका मालिकसँग अहिले खाने चामल नै नभएपछि…..

समाचार

मेलम्ची

मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको

छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका छन् । झट्ट हेर्दा भोकाएर निकै थकित भएजस्ता देखिन्छन् ।

ज्ञानेन्द्र मेलम्ची बजारका पुराना व्यापारीमध्येका एक हुन् । बजारमा उनको परिवारले खाद्यान्न स्टोरको व्यवसाय गर्दै आएको

थियो । एक साताअघि मात्र करिब तीन सय बोरा चामल, चिउरा, आटालगायत खाद्यान्न गोदाममा भण्डारण गरेका थिए उनले ।

मंगलबार साँझको बाढीले उनले पाँचवटा सटरभित्र राखेका सम्पूर्ण खाद्यान्न नष्ट गर्‍यो । सुन्दा अनौठो लाग्छ, मेलम्चीकै ठूलो खाद्यान्न गोदामका मालिकसँग अहिले खाने चामल छैन । पकाउने चामल छैन ।

‘भान्सामा जहिले चाहियो त्यहीबेला मात्र दाल–चामल लाने गर्थ्यौं’ श्रेष्ठले भने, ‘बाढीले गर्दा व्यापार त सधैंलाई सकियो, एकमुठी खाने अन्नसमेत बचेन !’

बाढी आएको मंगलबार साँझ श्रीमती र छोरासहित उनी बजारदेखि माथि डाँडामा रहेको इन्द्रावती माध्यमिक विद्यालयमा

बास बसे । के हुने हो भन्ने सन्त्रासमै उनीहरूको त्यो रात बित्यो । रातभरि टर्च बाल्दै पसल भएको ठाउँतिर हेरिरहे ।

भोलिपल्ट बिहान पसल भएको ठाउँसम्म खानेकुरा लिन गए उनी । तर मूल सडकभरि जमेको लेदो पानीले गर्दा सटरसम्म पुग्न सकेनन् ।

‘दुई दिनसम्म गोदाम भएको ठाउँमा आउनै सकिएन । आज घाम लागेर पानी सुक्न थालेपछि मात्र आएको हुँ’, भुइँमा बसेर बचेका खुद्रा सामान मिलाउँदै ज्ञानेन्द्रले बताए ।

तीन दिनदेखि ज्ञानेन्द्रको परिवारलाई भात–भान्साको कुनै परवाह छैन । भाडाको घरमा सञ्चालन गरेको गोदाम सम्पूर्ण रुपमा काम नलाग्ने भएसँगै

परिवार विछिप्त भयो । अहिले अरूले नै राहतमा दिएको चाउचाउ, रोटी खाएर गोदाम सफा गर्न व्यस्त छन् उनीहरू ।

‘खुद्रा सामान बिग्रँदा त केही थिएन तर चामल र चिउरा सखाप भएको देख्दा मन थाम्न सकेनौं’, ज्ञानेन्द्र भिजेको ठूलो चिउराको बोरालाई लौरोले घोचेर देखाउँदै भने ।

कुराकानीका क्रममा उनी अर्का एक स्थानीय वृद्धसँग भक्कानिए । स्थानीय ज्येष्ठ नागरिक भीमप्रसाद दंगाल पनि खानेकुरा नासिएकोमा

निकै दुःखमनाउ गर्दै थिए । दंगाल अन्न नष्ट हुनु निकै ठूलो अनिष्टको संकेत भएको बताउँदै ज्ञानेन्द्रलाई सान्त्वना दिँदै थिए ।

‘यत्रो गोदामका मालिकसँग आज आफैंले खाने सामल–तुमल छैन !’ भन्दै दंगाल अपशोच मान्दै थिए । ज्ञानेन्द्रका छोरा बालुवा थुप्रिएको

गोदामबाट कोकाकोला, स्प्राइट र बियरका बोतल निकाल्न व्यस्त थिए । उनलाई स्थानीय केही युवाले सघाइरहेका थिए ।

भोको पेटमा हिलो पानीले ढाडिएका चिउरा र चामलका बोरा बाहिर निकालिरहेका उनीहरु एक–अर्का सँग बोलिरहेका

थिएनन् । तर काम गर्दागर्दै घामले खरो भएपछि उनीहरूले गोदामको हिलोबाट निकालेको स्प्राइट पखालेर खान थाले ।

‘जसोतसो ज्यान बच्यो, अब जे खाएर भएपनि काम गर्न थाल्नुपर्छ’, चाउचाउ र स्प्राइट खाँदै २३ वर्षीय स्थानीय युवा

बताइरहेका थिए । एकैछिनको विश्रामपछि उनीहरू साबेल र कोदालोले बालुवा खन्दै पुनः सटर फुटाउँदै सामान निकाल्न व्यस्त भए ।

५० लाखको खाद्यान्न नष्ट

ज्ञानेन्द्रका अनुसार उनको मुख्य व्यवसाय नै खाद्यान्न गोदाम हो । वरपरका खुद्रा पसलेलाई समेत उनले नै होलसेलमा

सामान उपलब्ध गराउँथे । रोपाइँको समय आएकाले अरुबेला भन्दा दोब्बर खाद्यान्न मगाएर भण्डारण गरेको उनी सुनाउँछन् ।

तर आफैंलाई खानसमेत नपुग्ने गरी व्यापार डुबेकाले सम्हालिन नसक्ने स्थितिमा पुगेको छ ज्ञानेन्द्र र उनको परिवार ।

ज्ञानेन्द्रका अनुसार पाँचवटा कोठाको भौतिक सामान तथा खाद्यान गरी ५० लाख रुपैयाँभन्दा बढी क्षति भएको छ ।

२०७२ को भूकम्पले पुरानो घर भत्किएपछि यो परिवार पसल भएकै घरमा बस्दै आएको थियो ।

छोरा रमेशका अनुसार खाद्यान्नसँगै कुकिज, कुरमुरे, बियर, पेय पदार्थलगायत सामग्री पनि बाढीले पुरेको छ । चाउचाउ, बिस्कुटजस्ता सुख्खा खानेकुरा पनि हिलोले परेर ओसिइसकेको थियो ।

‘सामानको बिल र पसलका कागजपत्र पनि सबै बिगारेको छ’ हिलैहिलोको दलदलबाट उनले भने, ‘अब सप्लायर्ससँग कसरी हिसाब मिलाउने हो केही थाहा छैन !’

ज्ञानेन्द्रमात्र होइन स्थानीय एक दर्जन खुद्रा खाद्यान्न पसलमा समेत इन्द्रवती र मेलम्चीको बाढीले क्षति पुर्‍याएको छ । गेगर हिलो मिसिएको पानीले गर्दा पसलका अधिकांश सामान नष्ट भएका छन् ।