मेलम्ची बाढीमा फसेका राजु, जो १५ घण्टा सम्म बोरा हल्लाएर गुहार मागी रहे, भन्छन”बाच्छु जस्तो लागेकै थिएन..”

समाचार

बुधबार दिउँसो १२ बजे नेपाली सेनाले घरको छतबाट बोरा हल्लाएर गुहार मागिरहेका एक जनालाई उद्धार गर्‍यो । उनी

मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण मेलम्चीमा आएको भीषण बाढीको डुबानमा परी बन्दै गरेको घरको छतमा फसेर बसेका थिए ।

त्यसरी डुबानमा परेको घरको छतमा फसेका व्यक्ति ओखलढुङ्गाको सल्यानका ४६ वर्षे राजु राई हुन् । १२ वर्षदेखि मेलम्चीमा

निर्माण मजदुरको काम गरिरहेका उनले निर्माणको काम गरिरहेकै घर मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको

भीषण बाढीको डुबानमा परेको थियो । रातभर गुहार मागे पनि उद्धार गर्ने कोही नपाएपछि बिहान भएसँगै उनले उद्धारका लागि बोरा

हल्लाउन थाले । उनी भन्छन्, ‘रातभर कराउँदा–कराउँदा बोली नै सुकिसक्या थियाे ।’
राई त्यही घरको छेउमा छाप्रो बनाएर

बसेका थिए । राति उनी बसेको छाप्रोमा पानी छिर्‍यो । त्यसपछि उनी त्यही बनाउँदै गरेको घरमा गए । रातभर पानी परेर घर डुबानमा

परेपछि उनी त्यही घरको छतमा गएर बसे । ‘बाँच्छुजस्ताे त लागेकै थिएन । रातभर छतमा पानीमा भिजेर बसेँ । उद्धारका लागि गुहार

मागेँ । तर गुहार सुन्ने कोही भएनन् । डर र भोकले सासै सुक्यो । जिउमा टिसर्त मात्र थियो । जाडो पनि भयाे,’ राईले काँप्दै भने ।

रातभर उनको आसपास भएका घरका मान्छे ज्यान जोगाउन घरै छाडेर हिँडे । तर, डुबानमा परेको घरको छतमा फसेका उनलाई आज

दिउँसो १२ बजे मात्र नेपाली सेनाले उद्धार गरेको हो । उद्धार गरेर उनलाई इन्द्रेशोइरी माविमा लगियो । ‘हिजोदेखि खान नपाएको भात र पानी बल्ल आज खान पाएँ,’ राईले भने ।