अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको धमाधम मृत्यु, स्वास्थ्य मन्त्रालय चिन्तित

समाचार

कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय स्वास्थ्य विपद् व्यवस्थापन केन्द्रले जनाएको छ।

हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औषधि तथा उपचार पद्धतिहरू रेमडिसिभिर, प्लाज्मा थेरापी, अक्सिजन थेरापी कुनै पनि उपायले निको पार्न नसक्ने स्थिति सिर्जना भएको स्वास्थ्य आपत्कालीन केन्द्रका संयोजक तथा मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए।

अस्पतालमा भर्ना भएपछि बिरामीलाई उपचारले निको नभई धमाधम मृत्यु भइरहेको स्थितिले केन्द्र तथा मन्त्रालयलाई चिन्तित बनाएको उनले बताए। उनले शनिबार साँझ नागरिकसँग कुरा गर्दै भने, ‘अस्पताल भर्ना भएर के गर्नु ? कुनै औषधोपचार नै छैन, गम्भीर लक्षण देखिएकाहरूलाई बचाउनै मुस्किल छ।’ अहिले पनि गम्भीर लक्षण देखिएर आइसियु र भेन्टिलेटरमा पुगेकाहरूलाई सामान्य अवस्थामा फर्काउने कुरा असामान्य बनिसकेको उनले बताए। ‘गम्भीर लक्षण लिएर पुगेकाहरूलाई निको पार्ने कुरा सामान्य छैन,’ उनले भने।

अस्पतालमा भर्ना भएका बिरामी निको हुने अवधि लम्बिँदै गएको सशस्त्र प्रहरी बल बलम्बुका कोभिड उपचार संयोजक डा. प्रवीण नेपालले बताए। ‘१०दिनदेखि यता हवात्तै आएका बिरामीको छिटो निको हुन सकेको छैन,’ उनले भने।

उनले अस्पतालमा गम्भीर बिरामीको संख्या बढेको कारण पुगेका जति सबैले राम्रो उपचार पाउने स्थिति नरहेको बताए। ‘धेरै संक्रमित हुनु भनेको गम्भीर बिरामीको संख्या बढ्नु पनि हो, गम्भीर हुनु भनेको मृत्यु संख्या बढ्नु पनि हो,’ उनले भने।

उपचारकै क्रममा मृत्यु हुनेमा सबैजसो मिर्गौला, कलेजा तथा क्यान्सरजस्ता दीर्घरोगका बिरामी रहेको टिचिङ अस्पतालका कोभिड उपचार संयोजक डा. सन्तकुमार दासले भने। दासले अहिल्यै औषधिले काम गरेको या नगरेको विषय भनिहाल्न नमिल्ने बताए। पहिलो लहरको कोरोनाभन्दा दोस्रो लहरको पुरै फरक भएकाले संक्रमणबाट बच्न आम नागरिक, सबै सरकारी निकायलाई स्वास्थ्य मन्त्रालयले जारी गरेको आदेश कडाइपूर्वक पालना गर्न अधिकारीको अनुरोध छ।

उपचारमा पुगेका कोरोना संक्रमितहरू जो युवा उमेरका छन्, उनीहरूको आँखैअघि धमाधम मृत्यु भएको दृश्यले स्वास्थ्यकर्मीहरूसमेत दुःखी बनिरहेको उनले बताए। ‘न नागरिकले कोरोनालाई गम्भीर रूपमा लिए न नेताले, कोरोना के हो भन्न बुझ्न अस्पतालमा भइरहेका मृत्युको दृश्य देख्नुपर्छ,’ उनले दुःखी हुँदै भने। सरकारले आदेश गरेको मापदण्ड पालना गर्नेगराउने कुरामा अहिले पनि फितलो हुनु, सीमा नाका खुला हुनु, कन्ट्याक्ट ट्रेसिङ फितलो हुनुले संक्रमण भयावह हुने स्थिति देखिएको उनले आरोप लगाए।

‘मापदण्ड पालना गराउने काम स्वास्थ्य मन्त्रालयको मात्र हैन, हरेक निकायको हो, अहिले पनि सीमा नाका खुलै छन्, सार्वजनिक बस, सभाजुलुस, भोजभतेरमा कमी आउन सकेको छैन,’ उनले भने। यी सबै निकायलाई कडाइपूर्वक मापदण्डभित्र ल्याउन सके मात्र संक्रमण रोक्न सकिने अधिकारीको सुझाव छ।

उनले दोस्रो लहरको कोरोना संक्रमण पहिलोभन्दा जटिल रूपमा आएकाले लकडाउनतिर नगई जनताको ज्यान बचाउने स्थिति नरहेको संकेत गरे। ‘मान्छेको आर्थिक गतिविधिभन्दा जीवन बचाउनु अहिलेको स्थितिको माग हो, सम्बन्धित निकायले ध्यान दिनुपर्ने बेला आएको छ,’ उनले भने। नागरिक न्युजमा यो खबर छ ।