सिरहाको लगडी–गदियानीको दशगजामा २ सय ५० भारतीय परिवारको बसोबास, आँगनमै सीमास्तम्भ

समाचार

काठमाडौं

सिरहाको लगडी–गदियानीको दशगजा क्षेत्रमा २ सय ५० भारतीय परिवारको बसोबास गरेका छन् । सिरहाको सिरहा नगरपालिका–२० गदियानीमा

ज्ञानी मुखियाको घरको आँगनमै सीमास्तम्भ रहेको छ  । आँगनमै रहेको सीमास्तम्भ नेपाल–भारत सीमा छुट्याउने २८ नम्बरको पिलर हो । मुखिया

भारतको लगडी गाउँका हुन् । उनको घर पिलरदेखि भारतपट्टि पर्छ भने गाईगोरु नेपालतिर बाँध्ने गर्छन् । दशगजा क्षेत्रमा पुर्खादेखि बस्दै

आएकाले यहाँ बस्न नहुनेबारे आफूलाई थाहा नभएको उनले बताए  । ‘पहिले दशगजा ऐलानी पर्ती थियो । सीमा जोडिएका खेतवालाले बिस्तारै

मास्दै गए,’ नेपालतर्फको गदियानी गाउँका ६७ वर्षीय राजेन्द्र यादवले भने, ‘अब त सीमामा पिलर देखिन्छ, दशगजा देखिँदैन । दुवैतिरका बासिन्दाले

पाएसम्म मिचेका छन्  ।’ उनका अनुसार दशगजा मिचिएको ठाउँमा केहीले खेती गरेका छन् भने केहीले स–साना टहरा बनाएर पसल खोलेका

छन् । सिरहाको लगडी–गदियानीस्थित दशगजा क्षेत्र अतिक्रमण गरी भारतीय नागरिकले बस्ती नै बसालेका छन् । सो ठाउँमा २ सय ५० भारतीय

परिवारको बसोबास छ  । उक्त बस्ती भारतको पदमा ग्राम पञ्चायतको वडा नम्बर ४ लगडी गाउँ हो  । भारतीय नागरिक जयनारायण मुखियाले

आफ्ना पूर्वजले नै दशगजा क्षेत्रमा बसोबास गर्दै आएको बताए । ‘कहिलेकाहीं नेपाल र भारतका प्रहरी पिलरको फोटो खिच्न आउँदा यो क्षेत्र खाली

गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘फोटो लिएर गएपछि फर्केर आउँदैनन् ।’ लगडी गाउँकै कपिलदेव यादवले पनि आफूहरू पुस्तौंदेखि दशगजामै बस्दै

आएको सुनाए । ‘यहाँ त घर आँगनमै जंगे पिलर छ,’ उनले भने, ‘केही महिनाअघि दुवै देशका अधिकारीले फेरि सीमास्तम्भ गाडेका छन् ।’

दुवैतिरका बासिन्दाले दशगजा मिचेर बस्ती र खेती गर्ने गरेको उनले बताए । दशगजा क्षेत्रमा भारतीय नागरिक बसोबास गर्न थालेपछि २८ नम्बरको

पिलरभन्दा ६० मिटर उत्तर वर्षायाममा पानी बग्ने ठाउँलाई अहिले दशगजा भन्न थालिएको उनको भनाइ छ । सीमावर्ती छिमेकी गाउँका नेपाली

नागरिकले पनि विभिन्न ठाउँमा दशगजा क्षेत्रमा खेती गर्दै आएका छन्  । सिरहा नगरपालिका, औरही, बरियारपट्टि, नवराजपुर र भगवानपुर

गाउँपालिकाको सीमावर्ती वडामा दशगजा मिचिएको छ । भारतीय प्रहरीले बोर्ड टाँगेर ठाडी बजारस्थित दशगजामै चेकपोस्ट राखेको छ  ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाल र भारत दुवै देशका नागरिकलाई दुई देशबीचको अन्तर्राष्ट्रिय सिमानाको महत्त्वबारे चेतना नभएको स्थानीय

कन्हैया भट्टले बताए  । ‘केही भारतीयले नेपाली नागरिकता बनाएका छन् भने केही नेपालीले भारतीय आधार कार्ड बनाएका छन्,’ उनले भने,

‘त्यस्ता व्यक्तिको दुवैतिर जग्गाजमिन छ । खेती गर्छन्  ।’ दशगजा मिचेर बसे पनि एकापसमा विवाद कहिल्यै नभएको उनले सुनाए  । प्रहरीको

तथ्यांकअनुसार सिरहामा मुख्य २७, सहायक १९ र सानो ३४२ गरी ३८८ वटा पिलर रहेका छन्  ।