थ्री नेसन्स कप फुटबलका विजेतालाई जनही ४ लाख

खेलकुद

काठमाडौँ

सरकारले त्रिदेशीय कप ‘थ्री नेसन्स कप’ फुटबलका विजेता खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने भएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को

बैठकले विजेता खेलाडीलाई जनही चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा

सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । नेपालका लागि सन्जोग

राई र विशाल राईले गोल गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त

गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि विजेता खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।

यो पनि;- थ्री नेसन्स कपको टिकट बिक्रीबाट १ करोड ३६ लाख रुपैयाँ आम्दानी, नेपाली टिमले उपाधि जित्दा एन्फाले थ्री नेसन्स कपमा टिकट बिक्री,

विज्ञापन र टेलिभिजन प्रसारण अधिकारबाट १ करोड ७३ लाख ३५ हजार ५ सय रुपैयाँ कमायो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपमा चार

खेलको टिकट बिक्रीबाट १ करोड ३६ लाख ३५ हजार ५ सय रुपैयाँ आम्दानी गरेको छ । मैदान वरिपरि राखिएका विज्ञापन बोर्ड र टेलिभिजन प्रसारण अधिकार बिक्रीसहित

एन्फाले उक्त प्रतियोगिताबाट १ करोड ७३ लाख ३५ हजार ५ सय रुपैयाँ गरेको जनाएको छ । दशरथ रंगशालामा सोमबार सम्पन्न फाइनलमा नेपाली राष्ट्रिय

टिमले बंगलादेशलाई २–१ ले हराएर घरेलु मैदानमा ३७ वर्षपछि उपाधि जितेको थियो । संजोक राई र विशाल राईको गोलमा नेपालले पाँचौँ उपाधि हात पारेको

थियो । त्यो फाइनलमामात्रै टिकट बिक्रीबाट ७४ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको एन्फाका प्रवक्ता किरण राईले बताए । आउने जुन महिनामा

हुने विश्वकप/एसियन कप छनोटको तयारीमा यो प्रतियोगिता आयोजना गरिएको हो । उनका अनुसार फाइनलमा भीआईपी प्यारापिटतर्फका ९७७ टिकट बिक्री

भएको थियो भने साधारणतर्फ ५,५२५ टिकट बेचिएको थियो । टिकटको मूल्य फाइनलमा भीआईपीतर्फ २ हजार रुपैयाा र साधारणतर्फ १ हजार राखिएको थियो ।

समूह चरणका तीन खेलमा भीआईपीतर्फ १,५०० र साधारणतर्फ ७०० मा बेचिएको थियो । टिकट बिक्रीबाट पहिलो खेल (बंगलादेश १–० किर्गिस्तान यू २३) मा ६६,२००,

दोस्रो खेल (नेपाल ०–० किर्गिस्तान यू २३) मा १७,३९,००० र तेस्रो खेल (नेपाल ०–० बंगलादेश) मा ४३,५१,००० उठाइएको थियो । प्रवक्ता राईले भने, ‘मैदान

वरिपरि राखिएका रनिङ बोर्ड (विज्ञापन) मा चौधरी ग्रुप, नेपाल इन्भेष्टमेन्ट बैंक, मिडिया हबबाट ५–५ लाख र केटीएम सिटीबाट २ लाख आम्दानी भयो । नेपाल

टेलिभिजनसागको पुरानै सम्झौताअनुसार टेलिभिजन प्रसारण अधिकारबाट २० लाख कमाइ भएको छ ।’ एन्फाले ‘इन्टरनेसनल विन्डो’ मा आयोजना गरेको त्रि–देशीय

प्रतियोगिताको लागि १ करोड ६ लाखको बजेट बनाएको थियो । किर्गिस्तानको युवा टिम सहभागी भएकोले यसमा फिफाको अन्तर्राष्ट्रिय खेल (राष्ट्रिय टिमबीचको प्रतिस्पर्धा)

को मान्यता भने नेपाल र बंगलादेशको दुई खेलले मात्रै पाएको छ । एन्फाले विजेता टिमका खेलाडीका लागि जनही १–१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा

गरिसकेको छ । यही प्रतियोगिताको सफलताका आधारमा नेपाली टिमका कप्तान किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको मनोनयनमा

परेका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसहित १० खेलाडी छन् । यो स्तरमा पुग्ने उनी पहिलो नेपाली हुन् ।