टुरिष्ट गाइडको पेसा छाडेर यसरी पठाओ राइडर बने विनोद

समाचार

काठमाडौं

काठमाडौंको थानकोट घर भएका ‘राइडर’ विनोद थापा मगर एकाबिहानै घरबाट निस्कन्छन् । दैनिकजसो करिब सवा ६ बजे नै घरबाट निस्कने

उनी पहिला छोरालाई सितापाइलास्थित स्कुलमा छाड्छन्, त्यसपछि एक कप तातो चिया पिउँछन् र चोकतिर हानिन्छन् । थापा मगरको साथमा

‘टु–ट्वान्टी’ मोटरसाइकल छ, जुन उनले दुई वर्षअघि आफ्नै निजी प्रयोजनका लागि किनेका हुन् । तर अहिले त्यही मोटरसाइकल उनको

गतिलो कमाई गरिखाने भाँडो बनेको छ । हो, अहिले त्यही मोटरसाइकलमा उनी ‘पठाओ’ अन्तर्गत ‘राइड सेयरिङ’को काम गर्छन् । उनले

आफ्नो मोबाइल फोनलाई मोटरसाइकलमै ‘अट्याच’ गराएका छन् । हरबखत उनको नजर त्यही फोनको स्क्रिनमा रहन्छ । कति बेला

मोबाइलको घण्टी बज्ला र दौडौंला भनेर उनी तम्तयार रहन्छन् । कहिलेकाहीँ चोकमा पुग्दा नपुग्दै उनको मोबाइलमा घण्टी बजिहाल्छ । ग्राहक

लिन उनी कुदिहाल्छन् । तर, कहिलेकाहीँ घण्टौंसम्म पार्कमा कुरेर बस्दा पनि उनको मोबाइलमा घन्टी बज्दैन । तब उनी निरास हुन्छन् र

मनमनै सोच्छन्– आज उति कमाई नहुने भो । आजभोलि थापा मगरको जीवन धान्न र परिवार पाल्ने माध्यम नै राइडिङ पेसा

बनेको छ । कोभिड–१९ पछि खोसिएको पर्यटन व्यवसायको सट्टा उनले अहिले आफ्नो दैनिकी चलाउने सहारा ‘पठाओ’लाई

बनाएका छन् । उमेरले झण्डै ५० को हाराहारी टेक्न लागिसकेका थापा मगरको ५ जनाको परिवार छ । आफूसहित

एक छोरा, एक छोरी, पत्नी र बुढी आमा । छोराछोरीको पालन पोषण, शिक्षासहित परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा छ । ‘धन्न घर

भाडा लाग्दैन । नत्र त मेरो विजोग नै हुने थियो,’ उनी भन्छन्, ‘पठाओबाट कमाएको पैसाले छोराछोरीको स्कुल फि, कलेजको

फि, घर खर्च धान्नै मुस्किल छ । तर, म यो कुरामा सन्तुष्ट छु कि पठाओ मेरो दैनिकी चलाइदिने सहारा बनेको छ ।’

‘टुरिष्ट गाइड’बाट ‘पठाओ राइडर’:- त्यसो त थापा मगर पहिले ‘टुरिष्ट गाइड’को काम गर्थे । विदेशी पर्यटकलाई एयरपोर्टमै लिन जानेदेखि पर्यटकको

स्वागत सत्कार, होटलको व्यवस्थापन, पर्यटकहरुलाई घुमाउने काम उनी आफै गर्थे । तर, अहिले उनको पेसा बदलिएको छ । विश्व महामारी

‘कोभिड–१९’ ले उनलाई अर्को व्यवसायमा धकेलिदिएको हो । त्यसैको परिणाम हो उनको अहिलेको नयाँ परिचय– पठाओ राइडर । ‘काम

राम्रै थियो । कमाई पनि राम्रै थियो । टुरिष्ट गाइडको पेसा एयरपोर्ट–ठमेल, काठमाडौंबाट नाम्चे, सोलुखुम्बु, पुनहिल घोडेपानी, अन्नपूर्ण,

सगरमाथा बेस क्याम्पसम्म सयौं पटक पुगेको छु,’ उनले भने, ‘प्याकेजमा जाने हुँदा राम्रै कमाई हुन्थ्यो । तर ती सबै अहिले कोरोनाले खाइदियो ।

कोभिडका कारण विदेशीहरु नेपाल नआउने भएपछि अन्ततः म बेरोजगार भएँ । कोरोनाको सन्त्रास, लकडाउनका कारण झण्डै एक वर्ष घरमै

बसेँ । पठाओमा सामेल भएको त बल्ल दुई महिना जतिमात्रै हुँदैछ ।’ थापा मगर सुरुमा पठाओ अफिस खोज्दै पुतलीसडक, बागबजार घुमेको

रमाइलो किस्सा सुनाउँछन् । ‘पहिले नै पठाओ, टुटल भन्ने त सुनेको थिएँ तर कसरी काम गर्ने र कहाँ गएर आवद्ध हुने भन्ने मलाई जानकारी थिएन ।

खोज्दै गएपछि बल्ल थाहा पाएँ,’ उनले भने । पठाओको अफिसमा पुगेर दुई हजार रुपैयाँ बुझाउँदै पठाओ राइडरमा नाम दर्ता गराएको र

आवश्यक डकुमेन्टहरु बुझाएको उनले सुनाए । ‘त्यसको तीन दिनपछि बल्ल मैले पठाओको एप्स पाएँ,’ उनले भने, ‘मलाई राम्रोसँग याद छ, पहिलो

दिन मैले ६ सय ५० रुपैयाँ कमाएको थिएँ ।’ पठाओ राइडर बन्न पाएकोमा उनी निकै खुशी र सन्तुष्ट छन् । राइड सेयरिङबाटै दैनिक झण्डै १५

सय रुपैयाँ कमाउँछन् उनी । दिनमा अधिकतम २०–२५ टिपसम्म गर्न सकिने तर कहिलेकाहीँ सुक्खा लाग्ने उनको भनाइ छ । राइड सेयरिङ

बापत कम्पनीले प्रतिटिप २० प्रतिशत कमिसन लिन्छ । दिनभर टिप गर्दा २५ सय रुपैयाँ कमाईयो भने ५ सय रुपैयाँ अफिसलाई र ५ सय रुपैयाँ

तेलमा खर्च कटाएर बाँकी १५ सय खुद कमाई हुने उनले बताए । तर कहिलेकाहीँ मुस्किलले ८–१० टिपमात्र हुने र कमाई थोरै हुने उनी सुनाउँछन् ।

टिप पाउनै मुस्किल ! त्यसो त अहिले थापा मगरको मात्र होइन, हजारौं युवाको दैनिकी चलाउने सहज उपाय पठाओ भइदिएको छ ।

कम्पनीका अनुसार हालसम्म पठाओ राइडरमा दर्ता हुने मोटरसाइकल, स्कुटरको संख्या एक लाख नाघिसकेको छ । यस्तो संख्या एक लाख २०

हजारको हारहारीमा पुगिसकेको हुनसक्ने पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यात बताउँछन् । राइडरहरुको संख्यात्मक

वृद्धिसँगै अहिले पठाओ राइडर–राइडरबीच नै प्रतिस्पर्धाजस्तो चलेको छ । जसले गर्दा टिप पाउनै मुस्किल पर्ने गरेको थापा मगरको भनाइ छ ।

‘दैनिकजसो बिहान ७ बजेदेखि टिपमा निस्कन्छु । राम्रो टिप लाग्यो भने बिहान नै ८–१० टिपसम्म हुन्छ । तर कहिलेकाहीँ त २–४ टिप पनि लाग्दैन ।

दिउँसो पनि उस्तै हुन्छ,’ उनी भन्छन्, ‘सहरभरी राइडर नै राइडर छन् । त्यसैले पनि टिप पाउन मुस्किल छ । आफु भएको क्षेत्रमा ग्राहकको

रिक्वेस्स्ट आइहाल्यो भने पनि अर्कैले उछिट्याउँछ कि भन्ने चिन्ता हुन्छ । कति पटक त यस्तो समस्या पनि भोगेको छु ।’ ‘अब पठाओलाई छाड्न

सक्दिनँ’ ! समयको बाध्यताले आफुलाई राइडर बनाए पनि अब भने राइडर पेसा छाड्न नसक्ने पठाओ राइडर विनोद थापा मगर बताउछन् ।

वातावरण सहज भएर पुरानै पेसामा फर्किन परे पनि पठाओको गुन आफुले कहिल्यै नभुल्ने उनको भनाइ छ । ‘दुःखको साथी पो सच्चा साथी ।

उसको गुन कहिल्यै भुल्न सकिन्न । अब पठाओलाई म छाड्न सक्दिनँ । फेरि, अर्को पेसामा लागेर राइडिङ पेसा छाड्नु पर्छ भन्ने पनि त छैन,’

उनले भने । वातावरण सहज भएर यदि पुरानै पेसामा फर्किनु परेछ भने पनि पार्ट टाइम राइड गर्ने सोच बनाएको उनले बताए । ‘त्यस्तो अवस्था आए

अफिस आउँदा जाँदाको समयलाई राइड सेयरिङमा उपयोग गर्छु,’ उनले भने, ‘तर पठाओ भने छाड्दिनँ ।’