मोबाइलमै ह्याकिङ सिकेका सुजन, जसले ३ महिनामै तिरे परिवारको १५ लाख ऋण र पाउदै छन् यती धेरै सम्मान

समाचार

काठमाडौं

प्रतिकुलतालाई चुनौती दिएर अगाडि बढ्न सक्ने मानिसहरु कमै हुन्छन् । त्यसका एउटा मूर्त उदाहरण हुन्, पोखरा लहचोकका २४ वर्षीय सुजन थापा मगर । कुरा

आजभन्दा करिब ८ वर्षअघिको हो । टेलिभिजन र फिल्ममा देखिने कालाजादुबाट प्रभावित भएर ९ कक्षामा पढिरहेका सुजनलाई पनि कालाजादु सिक्ने

हुटहुटी चल्यो । आफ्नो इच्छा उनले बुबा-आमासामु राखे । काम नबन्ने देखेपछि घर छोड्ने मनस्थितिमा पुगे । तर त्यो कुरा थाहा पाएर बुबा-आमाले उनलाई

घरभित्रै थुनेर राख्न थाले । आफ्नै घरभित्र बन्दी बनेको बेला समय कटाउन उनी फेसबुकको वाल चहार्न थाले । त्यहीबेला कसैले बैंकको सिस्टम ह्याक

गरेको समाचारमा उनको आँखा पर्‍यो । फेसबुक चलाउन भर्खर सिक्दै थिए । ह्याकिङ शब्द सुनेको त्यही नै पहिलोपटक थियो । गुगलमा कुनै कुरा कसरी खोज्ने,

त्यो पनि थाहा थिएन सुजनलाई । अनि साथीभाइको सहयोगमा आफूले सुनेको ह्याकिङ शब्द गुगलमा खोजेर हेर्न थाले । विस्तारै रुचि जाग्दै गयो । तर उनी

पढेको सामुदायिक विद्यालयमा कुनै कम्प्युटर विषय थिएन । न त कम्प्युटरको कुनै बेसिक कोर्ष नै उनले पढ्न पाएका थिए । पढाइमा पहिलेदेखि नै

कमजोर र अल्छी । तर पनि सुजन सजिलै परीक्षा पास गरी कक्षा चढ्न सकिन्छ भनेर एसएलसीपछि शिक्षा संकायमा भर्ना भए । ह्याकिङजस्तो जटिल प्रविधि र

शिक्षा संकायका विषयबीच टाढाको सम्बन्ध पनि थिएन । सुजन परे शिक्षा संकायका विद्यार्थी । त्यो पनि अल्छी र कमजाेर । त्यसमाथि उनको चाहनाले

उनलाई शिक्षा संकायभन्दा विपरित ध्रुवतिर हुत्याउँदै थियो । ह्याकिङबारे धेर थोर थाहा पाइसकेपछि ह्याकर बन्ने हुटहुटी उनमा यसरी सवार भयो । हुटहुटी यतिसम्म

बढ्यो कि त्यसले कुनै अभाव र कमजोरी सामु घुँडा टेक्न मानेन । आफूसँग जे थियो, त्यहीबाट सुरु गरे । बरु कमी कमजोरीबीच आफूलाई अगाडि बढाउने उपाय

खोज्न थाले । सपना ह्याकिङको दुनियाँतर्फ मोडिसकेको थियो । त्यहाँसम्म पुर्‍याउने सारथी बन्यो इन्टरनेट । एउटा मोबाइल थियो, त्यसैबाट उनको

ह्याकर बन्ने यात्रा अगाडि बढ्यो । गुगलमा विभिन्न सामग्रीहरु सर्च गर्दै, पढ्दै, भिडियोहरु हेर्दै सिक्न थाले । कम्प्युटरका सबै कुरा अंग्रेजीमै हुन्छन् । ती पनि

जटिल प्राविधिक भाषामा लेखिएका । जो सबैले बुझ्न सक्दैनन् । त्यसमाथि उनको अंग्रेजी पनि राम्रो थिएन । ‘म एउटा एउटा शब्द डिक्सनरीमा खोज्दै

खोज्दै सिक्न थालेँ,’ आफ्नो प्रारम्भका दिनहरुबारे सुजन सुनाउँछन् । अग्रज ह्याकरहरुलाई भर्चुअल माध्यमबाट पछ्याउन थाले । उनीहरुबाट सिक्दै गए ।

इन्टरनेटमा भिडिओ र टेक्स्ट सामग्री हेरेर, पढेर एचटीएमएल, प्रोग्रामिङ ल्याङ्ग्वेज सबै कुरा सिक्दै गए । पोखराको लहचोकका सुजन थापा मगरले विस्तारै

वेबसाइट एप्लिकेसन, मोबाइल एपहरु डेभलपमेन्टको काम सिक्दै जान थाले । यसैबाट प्रोग्रामिङ स्किल पनि बढ्दै थियो । अलि अलि ह्याकिङ पनि सिक्दै थिए ।

गर्दै पनि थिए । ‘सुरुवातमा त के गर्ने, कसरी अगाडि बढ्ने राम्रोसँग थाहै हुँदैन,’ सुजन ह्याकिङका आफ्ना प्रारम्भिक दिन सम्झन्छन्, ‘मैले पनि विभिन्न साइटहरुमा

रहेका कमजोरीहरु खोतल्ने प्रयास गरेँ । विभिन्न ठाउँमा एक्सेस गरेर सुरक्षा कमजोरीहरुलाई पहिल्याउँदै गएँ ।’ त्यसैबीच तीन वर्षअघि साथी निर्मल दाहालले उनलाई

साइबर सेक्युरिटी कम्पनी एमिनेन्स वेजमा लिएर गए । निर्मल पहिल्यैबाट उक्त कम्पनीमा काम गर्दै आएका थिए । एमिनेन्स वेजले उनीमाथि एउटा स्किल

परीक्षण गर्‍यो । जहाँ उनलाई सीटीएफ अर्थात् क्याच द फ्लेग ह्याकिङ असाइन गरियो । उनले चार/पाँच मिनेटमै उक्त काम फत्ते गरे । त्यसपछि एमिनेन्स

वेजले सुजनलाई कर्मचारीकै रुपमा नियुक्त गर्‍यो । एमिनेन्स वेजको नियुक्ति सुजनको लागि ठूलो सौभाग्य सावित भयो । एमिनेन्स वेजमै प्रवेश गरेपछि उनले

एथिकल ह्याकिङ सुरु गरे । एमिनेन्स वेजकै ग्रुमिङका कारण उनका बग रिपोर्टहरु भ्यालिड हुन थाले । बाउन्टी रिवार्ड पनि आउन थाल्यो । ‘ट्रान्सफरवाइज डटकम’बाट

उनले पहिलो बाउन्टी रिवार्ड पाए । जुन पाँच सय डलरको थियो । तीन वर्षदेखि उनले यस्ता धेरै बाउन्टी रिवार्ड बटुलिसकेका छन् । २४ वर्षीय साइबर अनुसन्धानकर्ता

सुजन थापा मगरले हालसम्म भिजा, मास्टरकार्ड जस्ता ५० भन्दा बढी विश्वचर्चित अन्तर्राष्ट्रिय कम्पनीहरुलाई विभिन्न सुरक्षा कमजोरी पहिल्याएर जोखिमबाट

बच्न सघाइसकेका छन् । ‘अहिले दैनिक एक दुईवटा बग सब्मिट भएर भ्यालिड भइरहेको हुन्छन्,’ सुजन भन्छन्, ‘न्यूनतम सय डलरदेखि माथिका बाउन्टी

रिवार्डहरु आइरहेका हुन्छन् ।’ लकडाउनपछि अफिसमा फर्केर आएको दुई/तीन महिना भयो । यसबीच उनले बाउन्टी रिवार्डबाटै घरको १५ लाख ऋण तिरिसकेको सुनाए ।

प्राविधिक पृष्ठभूमि नभएपनि उनी हाल एमिनेन्स वेज जस्तो देशकै प्रतिष्ठित साइबर सेक्युरिटी कम्पनीमा वेब सेक्युरिटी रिसर्चरको भूमिकामा सक्रिय छन् । बिहान ९

देखिपाँच बजेको अफिस समयपछि घर पुगेर उनी बग खोज्न थाल्छन् । स्वअध्ययनले साइबर सुरक्षाको क्षेत्रमा लागेका सुजन आफूलाई आधारभूतदेखि एडभान्स

स्तरमा पुर्‍याउने श्रेय एमिनेन्स वेजलाई दिन्छन् । गुगलको सामान्य ज्ञानसमेत नभएका सुजनले प्रविधिको कखरा सिक्दै तीन चार वर्षसम्म मोबाइलबाटै ह्याकिङ

स्किल सिकेर आज यहाँसम्म आइपुगेका हुन् । एमिनेन्स वेजका संस्थापक सीईओ नारायण कोइराला पनि आफू सुजनको क्षमताबाट निकै प्रभावित भएको

सुनाउँछन् । ‘पढाइ मात्र सबैथोक हो, पढाइ नभए केही हुँदैन, केही गर्न सक्दैनस्,’ सुजनले आफ्ना बाबु आमाबाट थुप्रै पटक सुने । तर आफ्नो एउटै भिजन लिएर

अनवरतरुपमा मेहेनतका साथ अगाडि बढेर यहाँसम्म आइपुगेका सुजन ‘गरे के हुन्न’ भन्ने उक्तिको मूर्त उदाहरण हुन् । ह्याकिङ जति जटिल र भयानक सुनिन्छ, अठोट लिएर अगाडि बढे असम्भव छैन । सुजनको अनुभवले यही भन्छ ।