हातमुख जोड्न दैनिक ज्यालादारी गर्ने मजदुरमाथि एक अर्ब चार करोड राजस्व छलीको मुद्दा

समाचार

काठमाडौँ

बाराको जितपुर–सिमरा उपमहानगरपालिका– ९ स्थित चमारबस्ती । त्रिभुवन राजपथअन्तर्गतको छातापिपराबाट करिब तीन किलोमिटर दक्षिणपूर्व

लागेपछि सडककिनारमा टहरामा बसेका ४० दलित परिवार । वस्तीको जमिन पनि ऐलानी हो । सम्पत्तिका नाममा उनीहरूसँग एक इन्च पनि

जमिन छैन । हातमुख जोड्न दैनिक ज्यालादारी गर्छन् । यो वस्तीका महन्थ चमारसहित बाराका विभिन्न गाउँका भूमिहीन विपन्न ‘एक अर्ब चार

करोड राजस्व छली’को मुद्दामा परेका छन्। राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेपछि कोही जेल परेका छन्, कोही भागेका छन्, कोही अब के

हुने हो भनेर भयभीत भएका छन्। चमारबस्तीका महन्थ गाउँमै ज्यालादारी गरेर गुजारा चलाउँदै थिए । चार वर्षअघि छिमेकी परवानीपुर

गाउँपालिका घर भएका पलट यादवले राम्रो काम लगाइदिने आश्वासन दिएर उनलाई काठमाडौं पुर्‍याए । महन्थ पहिलोपटक काठमाडौं पुगेका

थिए, पलटले जे–जे भने त्यसै–त्यसै गरे । ‘राम्रो कम्पनीमा जागिरको कुरा भएको छ भन्दै पलटले नागरिकता माग्यो,’ महन्थ भन्छन्, ‘केही

कागजपत्रमा सही पनि गरायो । र, दुई दिनपछि काम पक्का भएपछि बोलाउँछु भन्दै बाटोखर्च दिएर घर फर्काइदियो । तर, खबर कहिल्यै आएन।’

पलटले किन आफ्नै खर्चमा काठमाडौं लगे र भाडा दिएर पठाए? महन्थले बल्ल बुझेका छन् । खासमा जागिरका लागि भन्दै मागिएको नागरिकता

दुरुपयोग गर्दै महन्थकै नाममा चन्दन ट्रेडर्स नामको कम्पनी दर्ता गरिएको थियो । कम्पनीले कारोबार कति गर्‍यो थाहा छैन, तर राज्यलाई तिर्नुपर्ने चार

करोड ७५ लाख ८७ हजार सात सय ६३ रुपैयाँ कर छली गरेको ठहर राजस्व अनुसन्धान विभागले गरेको छ । यो रकम उठाउन महन्थविरुद्ध पाटन

उच्च अदालतमा मुद्दा दायर भएको छ। घरमा अदालतको पत्र आएपछि मात्रै उनले आफूलाई फसाइएको पत्तो पाए । ‘हामी गरिबसँग हजार

रुपैयाँ त हुँदैन, करोडौँ रुपैयाँको कारोबार कहाँबाट गर्नु? कर छली कसरी गर्नु? कागजमा लेखेजति पैसा मैले जीवनमा देखेकोसमेत छैन, मलाई

फसाइयो, जीवन नै बर्बाद भयो,’ आँखाका डिलमा आँसु अड्याउँदै उनले भने। ‘दिनको ६ सय रुपैयाँले कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताइरहेका

वेला राम्रो काम दिने भनेर ठूलै मान्छे आएको थियो । मलाई काम चाहिएको थियो, त्यसैले त्यतिवेला अरू केही सोधिएन, सोचिएन । सबै

काठमाडौंमा कमाउन जाने भन्छन्, त्यहाँ त सबैलाई काम मिलिहाल्छ भन्ने सोचेँ,’ उच्च अदालत पाटनबाट पत्र पाएका चमारबस्तीका

महन्थ चमारले भने, ‘अहिले आएर थाहा पाइयो, नागरिकता माग्दै कागजमा सही गराएको फसाउनका लागि रहेछ।’ महन्थ चमारविरुद्ध त

मुद्दा चलेको छ, जितपुर–सिमरा– ९ कै बिचला इनारगाउँका मुन्ना चौधरी त जेल नै गइसकेका छन् । उनले पंकजा ट्रेडर्स खोलेर कारोबार गरी

तीन करोड ३२ लाख ५७ हजार पाँच रुपैयाँ कर छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । गत १८ पुसमा

पाटन उच्च अदालतबाट म्याद तामेलीको पत्र घरमा आएपछि मात्रै मुन्नाले त्यसबारे थाहा पाए । उनी अहिले नख्खु कारागारमा छन्। साथी अशोक

पासवानको साथमा मुन्ना काठमाडौं पुगेका थिए । अशोकले पनि जागिरकै आसमा नागरिकतासहितका कागजपत्र काठमाडौंमा

बुझाएका थिए । दुवैले सँगै जागिर गर्ने आसमा मुन्नाले नागरिकता मात्र दिएनन्, कागजपत्रमा हस्ताक्षर पनि गरेका थिए । कागजपत्र लिने मान्छे

को हो उनलाई याद छैन । तर, जागिरको पर्खाइमा बसेका उनलाई तीन करोड ३२ लाख राजस्व छलीको अभियोग लागेको छ । मुन्नाले भन्दा अघि

नै कागजपत्र दिएका अशोकको नाममा अहिलेसम्म कुनै अभियोगपत्र आएको छैन । तर, कुनवेला कति रकमको पत्र आउने हो भनेर उनी

पनि त्रसित छन्। राजस्व अनुसन्धान विभागले अदालतमा दर्ता गरेको अभियोगपत्रमा समेत भनिएको छ, ‘यस विभागको आन्तरिक सूचना

विश्लेषणअनुसार सर्वसाधारण व्यक्ति, कमजोर आर्थिक अवस्था भएका, ज्यालादारी मजदुर तथा अनपढ र सोझासिधा मानिसको नागरिकता र

सहीछाप प्रयोग गरी आर्थिक प्रलोभन देखाई यस्ता व्यक्तिहरूको नाममा राजस्व छली गर्ने उद्देश्यले विभिन्न फर्महरू खडा गरेको पाइयो।’

अभियोगपत्रमा नै ज्यालादारी मजदुरलाई फसाइएको भनेर किटान गरिएकाले अदालतबाट न्याय पाउने आसमा मुन्ना चौधरी आफ्ना

बाबुसहित काठमाडौं आएका थिए । तर, अदालतले उनलाई सीधै नख्खु जेल चलान ग¥यो। बाबु त्रिलोकीनाथ चौधरी भन्छन्, ‘छोरालाई न्याय

दिलाउन काठमाडौं लगेर गएको थिएँ, तर उल्टै जेल पर्‍यो । गरिबका लागि बोल्ने कोही भएन ।’ जरिवाना तिर्न त सम्भव छैन, तर छोराले कति

सजाय पाउने हो भन्ने पनि उनलाई अनुमानसमेत छैन । बाराको जितपुर–सिमरा उपमहानगरपालिका– २० बसडिलवा गाउँका

हिरालाल पासवान हजारा धागो कारखानाका मजदुर हुन् । बुबा कपिलदेव ज्यामी काम गर्छन् । मजदुरी गरेर परिवार पालिरहेका उनीहरूको

नाममा एक पाइला जमिनसमेत छैन, ऐलानी जग्गामा छाप्रो बनाएर बसेका छन् । गरिबीको दलदलमा बाँचिरहेका सोझा हिरालालले केही

वर्षअघि सरोजकुमार मिश्र र उमाशंकर सहनीलाई नागरिकता दिएका थिए । केही कागजमा हस्ताक्षरसमेत गरेका थिए । तर, केही दिनअघि

पाटन उच्च अदालतले म्याद तामेलीका लागि घरमा कर्मचारी पठाएपछि मात्र उनले आफूलाई एक कम्पनीको मालिक बनाइएको र त्यहाँबाट

ठूलो कर छली भएको थाहा पाए। जागिरका लागि कागजमा सही गरेको ६ वर्षपछि गत १८ पुसमा उनको घरमा कर छली गरेको मुद्दामा अदालतबाट

पठाइएको पत्र पुग्यो । हिरालालको नाममा दर्ता गरिएको अनन्या इन्टरनेसनल कम्पनीले पाँच करोड १७ लाख ७७ हजार सात सय २६ रुपैयाँ

कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले गत १४ माघमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।