‘हामीलाई सि ध्या उँछु भन्ने प्रचण्ड आफै सि द्धि नुभयो’

राजनीति

विराटनगर

प्रधानमन्त्री केपी ओलीले प्रचण्ड सिद्धिने बाटोमा हिँडेको आरोप लगाएका छन्। शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका अ‍ोलीले यस्तो आरोप लगाएका हुन्।

अझैसम्म फर्किएर आउन र जनताको सागरमा मिसिन आग्रह गर्दै उनले सिद्धिने बाटोमा नहिँड्न सुझाव दिए। ‘अझै फर्किएर आउनुहोस्, नेपाली जनताको सागरमा मिसिनुहोस्। भीरबाट लड्नेलाई राम भन्न सकिन्छ काँध हाल्न सकिँदैन’, प्रचण्डको नाम लिँदै ओलीले भने, ‘उहाँ आउने र फर्किने बाटोमा हिँड्नु भएको होइन। सिधै गएर सिद्धिने बाटोमा हिँड्नु भएको हो। उहाँको हविगत सिद्धिने बाटोमा छ।’

सुरुमा वैद्यको साथमा बसेका प्रचण्ड त्यसपछि डाक्टरको साथमा लागेको र डाक्टरले पनि छोडेपछि अहिले झाक्रीको साथमा पुगेको भन्दै ओलीले व्यङ्ग्य गरे।

‘पहिला प्रचण्ड वैद्यको साथमा हुनुहुन्थ्यो, त्यसपछि डाक्टरलाई साथमा लिनुभयो। वैद्य र डाक्टर छोड्नुभयो। अहिले झाक्रीलाई साथमा लिनुभयो’, ओलीले भने, ‘गलत बाटोमा हिँड्नुभयो उहाँलाई झाक्रीले पनि छोड्छन्।’

ओलीले दुई चार सिटमा सीमित प्रचण्डलाई सुरुमा ठूलो जुरो हालिदिएको त्यसपछि सिङ्ग हादिदिएपछि अहिले उहाँ आफूहरुलाई सिध्याउँछु भन्दै हिँडेको आरोप लगाए।

‘दुई चार सिटमा सीमित हुने प्रचण्डलाई ठूलो जुरो हालिदिएको थिएँ। त्यसपछि लामा सिङ्ग हालिदिएको थिए’, प्रचण्डको आलोचना गर्दै ओलीले भने, ‘त्यसपछि उहाँले नै हामीलाई सिध्याउँछु भन्नुभयो। अब उहाँ सिद्धिनुभयो।’

ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्। प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रदर्शन गरिरहेका बेला ओली नेतृत्वको सत्ता पक्षलेसमेत आमसभा गर्दै आएको छ।

ओली पक्षको विराटनगरमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेका छन्। ओली समूहले वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको चुनावको तयारीमा जुट्न आग्रह गर्दै विभिन्न ठाउँमा सभा गर्दै आएको हो।